Saturday 06-06-2026

रामेछाप–काठमाडौँ सृजनशील समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाभन्दा बढीले गरे रक्तदान

Satyapana
  • Saturday Dec 13 2025
  • | 3127 Read

Share News

रामेछाप–काठमाडौँ सृजनशील समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाभन्दा बढीले गरे रक्तदान

२७ मङ्सीर,२०८२।रामेछाप–काठमाडौँ सृजनशील समाज नेपालले आज शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ७० जनाभन्दा बढीले रक्तदान गरेको समाजका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो।  

  आपतकालीन अवस्थामा रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। “रक्तदान जीवनदान हो” भन्ने मूल नारासहित समाजले मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।  

कार्यक्रमका संस्थापक अध्यक्ष डा. कृष्णहरि बुढाथोकीले यो कार्यक्रम केवल रक्तदानमा सीमित नरही काठमाडौँमा रहेका रामेछापका नागरिकलाई एक ठाउँमा भेला गराउने अभियानको हिस्साका रूपमा रहेको समेत बताउनुभयो।  उहाँले समाजले सामाजिक एकता, सहकार्य र मानव सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका जिल्ला संयोजक बिपिन भट्टराईले रक्तदानसँगै रामेछापका उत्पादनको प्रयोग र प्रवर्द्धनबारे समेत छलफल गरिएको जानकारी दिनुभयो। “रक्तदान कार्यक्रम भए पनि हामीले रामेछापका उत्पादन, सम्भावना र पहिचानबारे कुरा गर्ने अवसर बनायौँ,” उहाँले भन्नुभयो।  नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर अस्पताल ब्लड ट्रान्सफ्युजन सेन्टरले गरेको थियो।

रक्तदानमा सहभागी दाताहरूले यस्ता मानवीय कार्यक्रमको प्रशंसा गर्दै खुशी व्यक्त गरेका छन्। “पैसाले पनि किन्न नसकिने रगत दान गरेर सहयोग गर्न पाउनु नै ठूलो खुशीको कुरा हो,” सहभागी दाताहरूले प्रतिक्रिया दिएका छन्।

रामेछाप–काठमाडौँ सृजनशील समाजले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसक्नेहरूका लागि आर्थिक सहयोग जुटाउने, अस्पताल प्रशासनसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने, बाढी–पहिरोजस्ता विपद्का समयमा पीडितलाई राहतस्वरूप रकम तथा कपडा वितरण गर्ने, विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने तथा विद्यार्थीलाई अध्ययन सामग्री वितरण गर्दै अध्ययन उत्प्रेरणा वृद्धि गराउने कार्यहरू समाजले गर्दै आएको छ।

यसैगरी, विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रमअन्तर्गत हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन समेत  गर्दै आएको समाजले जनाएको छ।

रामेछाप–काठमाडौँ सृजनशील समाज जन्मस्थान र कर्मस्थान, गाउँ र शहर, देश र विदेशलाई जोड्दै जहाँ रहे पनि आफ्नो गाउँ–समाजको सामाजिक, मानवीय तथा समृद्धिका लागि भूमिका खेल्ने उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो। “हामी एक्लै केही होइनौँ, हामी जुटे समाधान हौँ” भन्ने भावका साथ सामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको यस संस्थामा हाल ५८६ जना आजीवन सदस्य रहेका छन्।


For Add Product Review. You Need To Login First Login Page