Search News
मोरङ्गी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
- Monday Jan 05 2026
- | 1392 Read
Share News

उर्लाबारी, पुस २१ गते । निर्माणधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार मोरङ्गी पुलको दक्षिण पश्चिम भागमा काम भइरहेको बेला पुल र सडकसँग जोडिएको माटो बगेपछि पुलको दक्षिणी भाग भासिएको छ । आइतबार साँझ ६ः३० बजेतिर काम गर्दा गर्दै पुल भासिएपछि प्रहरीले ठुला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हाल पुलको उत्तर तर्फबाट एकतर्फी साना सवारी साधन मात्र सञ्चालन भइरहेको छ ।
पूर्वबाट पश्चिम जाने ठुला सवारी साधनहरू पथरीबाट १० किमी उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङ पुग्ने र त्यहाँबाट दक्षिण कानेपोखरी आएर निर्माणाधीन सडकमा जोडिएका छन् । पश्चिमबाट पूर्व आउने सडक कानेपोखरीबाट उत्तर गई जाँते पुगेर दक्षिण आई पथरीमा जोडिएका छन् ।
काकरभिट्टा लौकही सडक योजना पश्चिम खण्ड कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले जमीन सतहबाट निक्कै उचाइमा पुल रहेकोले काम गर्ने क्रममा माटो बगेको बताउनुभयो । जमिन सतहबाट १९/२० फिट उचाइमा पुल छ । माटो पनि खुकुलो रहेछ, त्यसैले माटो बगेपछि पुल भासियो । उहाँले आइतबार रातिदेखि नै ठुला सवारी साधन वैकल्पिक मार्गबाट आवतजावत गरिरहेको र पुलको दक्षिणतर्फबाट डाइभर्सन खोल्ने काम भइरहेको बताउनुभयो ।
स्थानीय कुलबहादुर कट्वालले भन्नुभयो, ‘‘२०२८ सालमा सडकको नक्साभित्र पुल निर्माण गर्न नसकेर पुल दक्षिण सारेर निर्माण गरिएको थियो ।’’
बाह्रै महिना पानी नसुक्ने मोरङ्गी खोलाको राजमार्ग आसपासको माटो अत्यन्तै खुकुलो रहेको र जमिनमुनि पानीको सतह धेरै माथि रहेकोले काम गर्न उसबेला पनि जोखिम भएको स्थानीय बुढापाका बताउनुहुन्छ ।

For Add Product Review. You Need To Login First Login Page















